काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा विदेशमा कार्यरत श्रमिकले जम्मा गरेको रकम २ अर्ब ९८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली युवामध्ये हालसम्म १० लाख ७७ हजार जना योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध भएका छन् । ती श्रमिकले हालसम्म उक्त रकम जम्मा गरेका हुन् ।
सामाजिक सुरक्षा कोषको अनुसार वृद्धवस्था सुरक्षा योजनामा १ अर्ब ५६ करोड तथा दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ८३ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा रहेका ९० हजारले नियमित योगदान रकम संकलन गरिरहेका बताएका छन् ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक सूचीकृत हुने संख्या बढेसँगै रकम संकलन हुने दरसमेत बढेको कोषले जनाएको छ । सरकारले अघिल्लो वर्ष चैत आठदेखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सुरु गरेको थियो । कोषमा आवद्ध हुने श्रमिकको संख्या बढाउन प्रमुख श्रम गन्तव्यका कूटनीतिक नियोगलाई समेत अनुरोध गरिरहेका कारण योगदानकर्ता बढ्ने कोषले बताएको छ । हालसम्म सूचीकरण भएका मध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् । सरकारले औपचारिक क्षेत्रका श्रमिकमात्रै योजनामा समावेश गर्दै आएकोमा अघिल्लो चैतबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई सामेल गराउन सुरु गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकका लागि सामाजिक सुरक्षा योजना अनिवार्य छ । नयाँ जाने श्रमिकले श्रमस्वीकृतिकै क्रममा योजनामा आवद्ध हुनुपर्ने व्यवस्था छ । श्रमस्वीकृति नवीकरण गर्ने बेला पनि योजनामा अनिवार्य समावेश हुनुपर्ने प्रावधान छ । योजनामा समावेश हुन श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनुपर्छ । रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएस मार्फत जम्मा गर्ने व्यवस्था मिलाएको कोषले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्धवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याइने प्रावधान रहेको छ । योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिन वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिभरण लिन पाउँछन् ।
FACEBOOK COMMENTS