काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले सोमबारदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समूहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता शेयर आज (असोज ७) देखि असोज १४ गतेसम्म लिलाम गर्न लागेको हो ।
यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्यूनतम मूल्य १०० रूपैयाँ कायम गरेकोले सोभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउनेछ । त्यसपछि पनि शेयर बाँकी रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यही प्रक्रियाअनुसार शेयर बाँकी नरहेसम्म शेयर बाँडफाँड हुनेछ ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ । अधिकतम भने पूरै शेयरका लागि आवेदन दिन सकिनेछ ।
काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिनेछ । काठमाडौंबाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सूर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय ऊर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।
FACEBOOK COMMENTS