काठमाडौ । धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन क्षेत्रमा ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’सञ्चालन हुन लागेको छ ।
ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ असोज ११ देखि १३ गते सम्म एक्स्पो हुँदैछ । ऐतिहासिक पाटन क्षेत्रको प्रचार प्रसार तथा प्रवद्र्धनका साथै यहाँको समग्र विकासमा यो एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।
एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवद्र्धनात्मक लगायत गरी २५ वटा स्टल रहनेछन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरुको प्रवद्र्धन हुने हामीले विश्वास लिएका छौं । स्थानीय कालिगढ, रत्न तथा आभूषण उद्यमी तथा व्यापारिक क्षेत्रसमेत एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी र्याम्प वाल्क हुँदैछ । एक्स्पोको अन्तिम साँझमा र्याम्प वाल्कमार्फत समापन कार्यक्रम हुनेछ । र्याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहेकाले कार्यक्रममा थप आकर्षण थपिनेछ । सो अवसरमा परम्परागत आभूषणहरुको प्रदर्शनी गरिने छ ।
पोशाक पनि नेपाली मौलिकता तथा परम्परागत शैलीका हुनेछन् । विश्व पर्यटन दिवसको अवसरमा नेपाली मौलिक संगीत तथा नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुतीहरु रहनेछ । पछिल्लो समय कोभिड महामारी र त्यसपछि आर्थिक क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ ।
यस्तो विषम परिस्थितिमा आयोजित एक्स्पोको माध्यमबाट आर्थिक गतिविधि बृद्धि हुने अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने अध्यक्ष महर्जनले बताए ।
FACEBOOK COMMENTS