काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटमा नेपालले उज्वेकिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।
चाइनिज ताइपेइमा भइरहेको छनोटको आफ्नो तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित भएको हो ।
न्यू ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा पहिलो २० मिनेटपछि नै नेपाल दश खेलाडीमा समेटिएपछि उज्वेकिस्तानले त्यसको फाइदा उठायो ।
नेपालका सविन घिमिरेले बल रोक्ने क्रममा बल हातले रोकेपछि उनले सिधै रातो कार्ड सामना गरेका थिए । त्यसका उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । तर, उरिनबोएभको पेनाल्टी प्रहार नेपालका गोलकिपर जियरात शेखले बचाएका थिए ।
तर, साइदुमार्खोन साइदनुरल्लायभले २४औं र २७औं मिनेटमा लगातार गोल गर्दै उज्वेकिस्तानलाई २-० को अग्रता दिलाए ।
२९औं मसनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३-० को अग्रता बनायो । नेपालले रक्षात्मक खेल्दै उज्वेकिस्तानलाई रोक्ने प्रयास गरेपनि दोस्रो हाफमा थप तीन गोल व्यहो¥यो ।
उज्वेकिस्तानका लागि मिर्जाएभले ६७औं, मेयिरबेक रेजाबालिएभले ८७औं र अब्दुगाफुर हेदारोभले ९०औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाए ।
समूह बीमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको थियो ।
तीन खेल खेलिसकेको नेपालको एक जित र दुई हारबाट ३ अंक मात्र छ ।
एएफसी यू-२० एसियन कपको साविक विजेतासमेत रहेको उज्वेकिस्तानको भने यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७-० ले पराजित गरेको थियो ।
लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ ।
नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनको सामना गर्नेछ ।
एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यू-२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यू-२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।
यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ टोलीले पनि एएफसी यू-२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकका रूपमा सिधै छनोट भइसकेको छ ।
FACEBOOK COMMENTS