काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको अभियोगमा जीबी (गितेन्द्रबाबु) राईसहित १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । उनीहरूविरूद्ध मंगलबार चितवन जिल्ला अदालतमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।
जीबीसहित सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरूङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा र थमन भन्ने थानबहादुर बुढामगरविरूद्ध मुद्दा दर्ता भएको हो ।
गत वर्ष ९ असोजमा जिल्ला प्रहरी कार्यलय चितवनमा सहकारी ठगीसम्बन्धी जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरेर अदालतलाई बुझाएको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप बुझन् भनेपछि प्रहरी थप अनुसन्धानमा लागेको हो ।
सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको भनिएको ४७ करोड रूपैयाँ बराबरको कारोबार के कसरी, कोकोसँग भएको भन्ने विवरण प्राप्त नदेखिएकाले सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएको हो ।
साहारा सहकारीका ४४६ बचतकर्ताले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो । उजुरी दिनेहरूको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ सहकारीमा बचत थियो ।
FACEBOOK COMMENTS