लमजुङ । पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाकी निवर्तमान अध्यक्ष छुपिमाया गुरूङको निधन भएको छ ।
दूधपोखरी गाउँपालिका-५, कोल्की भञ्ज्याङ निवासी गुरूङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरि न्यौपानेका अनुसार गुरूङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो । सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राती अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर उनी निर्वाचित भएकी थिइन् । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उनी हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य थिइन् ।
FACEBOOK COMMENTS