काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा म्याद थपका लागि लगिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपका लागि अदालत लाने तयारी गरेको हो । प्रहरीले अनुसन्धानका लागि एक साता भन्दा लामो समय म्याद माग्ने तयारी गरेको स्रोतको भनाइ छ ।
रास्वपाका सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीले शुक्रबार पार्टी कार्यालयबाट पक्राउ गरेर कास्की लगेको छ ।
उनलाई जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो । उक्त सहकारी संस्थाको एक अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।
राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय सहकारी विशेष छानविन समितिको प्रतिवेदनलाई आधार मानेर प्रहरीले अनुसन्धान गर्न लागेको हो ।
जेठ १५ गते मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ७ सदस्यीय छानविन समिति बनाएको थियो ।
FACEBOOK COMMENTS