काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक एकमात्र र पहिलो विकास बैंक बनेको छ । कात्तिक २८ गते एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारीअन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरूले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्यूआरमा सहज रूपमा क्यूआर पेमेन्ट गर्न सक्नेछन् ।
यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोगप्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेका शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकका माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।
FACEBOOK COMMENTS