काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसायका लागि स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमाको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको छ।
यस कम्पनीले आर्थिक रूपमा पिछडिएका वर्ग, गरिबीको रेखामुनि रहेका समुदाय र सीमान्तीकृत क्षेत्रका बासिन्दालाई लक्षित गर्दै ‘समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना’ सार्वजनिक गरेको हो।
यस योजनाले बीमितलाई बीमा अवधिभर नियमित अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत अग्रिम रूपमा फिर्ता गर्नेछ भने बीमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र थप निश्चित लाभसमेत प्रदान गरिनेछ। यो योजना बीमितको विभिन्न आवश्यकता, जस्तै शिक्षा, विवाह, धार्मिक तथा सांस्कृतिक कार्य, र व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग पुर्याउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
योजनाका मुख्य विशेषताहरू:
बीमा योजनाको नाम : समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना
बीमाङ्क रकम : न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म
प्रवेश उमेर : १८ वर्षदेखि ५० वर्षसम्म
बीमा समाप्ति उमेर : अधिकतम ७० वर्ष
बीमा अवधि : १५, २०, वा २५ वर्ष
बीमाशुल्क भुक्तानी : वार्षिक, अर्धवार्षिक, र त्रैमासिक
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ग्रामीण क्षेत्रका समुदायमा बीमा साक्षरताको स्तर अभिवृद्धि गर्न र बीमाको पहुँच बढाउन यो योजना विशेष भूमिका खेल्ने विश्वास लिएको छ। न्यून शुल्कमा उच्च सुरक्षासहितको जीवन बीमाको ग्यारेन्टी हुने यो योजनाले देशका दुरदराजका व्यक्तिहरूसम्म लाभ पुर्याउने कम्पनीको दाबी छ।
FACEBOOK COMMENTS