काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर रहने सम्झौता गरेको छ ।
सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत क्षेत्रीसहित नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख रूपैयाँ बराबरको दुर्घटना बीमा र १ लाख रूपैयाँ बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू अत्यन्त उत्साहित भएको बताए ।
त्यस्तै सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदूरपश्चिम नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान खेलाडीहरू उत्पादन गर्ने उर्वर भूमिका रूपमा रहँदै आएको उल्लेख गरे ।
विशिष्ट प्रकारका संस्कृति, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यताले भरिपूर्ण यस प्रदेशको गौरव बोकेको टिम सुदूरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडि बढाउन पाउँदा सिंगो सगरमाथा लुम्बिनी इन्स्योरेन्स परिवार र स्वयं आफू पनि अत्यन्तै हर्षित भएको बताए ।
साथै सबैभन्दा धेरै समर्थकहरूको रोजाइमा पर्न सफल यस टिमको अभिन्न अंग हुन पाउनु सलिकोका निम्ति गौरवको कुरा भएको बताए ।
क्षेत्रीले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई शुभकामनासमेत व्यक्त गरे ।
FACEBOOK COMMENTS