काठमाडौं । नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ ।
रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारका रूपमा सहभागिता गर्नेछ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।
यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्ने सीईओ श्रेष्ठले बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललले नेतृत्व गर्ने लुम्बिनी लायन्स फ्रेन्चाइजले अनुभवी र प्रतिभाशाली अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको समूहलाई समेटेको छ ।
फ्रेन्चाइजका सबैभन्दा नामी विदेशी खेलाडी आईपीएल-२०१६ को फाइनलका स्टार बेन कटिङ हुन्, जसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए । यसका साथै भारतका यू–१९ विश्वकप विजेता कप्तान उन्मुक चन्द, इङ्ल्याण्डका उदाउँदा स्टार टम मुरस, क्यानडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन् । फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा विवेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन् ।
नेपाल प्रिमियर लिगमा आठवटा फ्रेन्चाइज भाग लिनेछन् र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरू हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्नेछ ।
FACEBOOK COMMENTS