सिरहा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीनदिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
श्रेष्ठले भने, ‘राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो भने सुशासनको ग्यारेन्टी गरी सामाजिक न्यायको प्रत्याभूति गर्नु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु मूल अभीष्ट र मुख्य कार्यभार हो ।’
श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र आफू गृह तथा उपप्रधानमन्त्री हुँदा ठूला कर्मचारी, ठूला नेता र सरकारमा बसिसकेका मन्त्रीहरूलाई भ्रष्टाचार गरेकोमा कानुनबमोजिम कारबाही थालेका कारण सरकार ढालिएको जिकिर गरे ।
श्रेष्ठले देशैभरि माओवादी केन्द्रले पार्टी निर्माण गर्ने अभियान थालेको बताए । त्यसैको एक कडीका रूपमा यो त्रिदिवसीय प्रशिक्षणलाई लिन सकिने उनले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरी पनि प्रशिक्षकका रूपमा सहभागी रहेका छन् ।
माओवादी केन्द्रका नगर कमिटी सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्ताहरूलाई समसामयिक विषयमा प्रशिक्षित गराइने जनाइएको छ । आवासीय प्रशिक्षण शिविरमा झण्डै दुई सय नेता तथा कार्यकर्ता सहभागी भएका छन् । प्रशिक्षण शिविर स्थानीय एक गुम्बा भवनमा सञ्चालन गरिएको छ ।
FACEBOOK COMMENTS