काठमाडौं । सरकारले सरकारी स्वामित्वका जलविद्युत् तथा ऊर्जा आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अघि बढाउने तयारी गरेको छ ।
लामो समयदेखि पीपीएको प्रक्रियामा रहेका सरकारी आयोजनालाई सम्झौताको चरणमा पुर्याउन नेपाल विद्युत प्राधिकरणले पहल गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका सरकारी ऊर्जा आयोजनासँग पीपीए गर्ने प्रक्रिया अघि सारेको छ ।
पीपीए प्रक्रियामा अघि बढाइएका आयोजनाहरूमा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ए, ३० मेगावाटको विद्युत् उत्पादन कम्पनीको सोलार परियोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेतीलगायतका आयोजना रहेका छन्।
सरकारी कम्पनीका आयोजनाको पीपीए अघि बढेपछि ती परियोजनाले लगानी जुटाउने, पूर्वाधार निर्माण तथा उत्पादनको तयारीलाई तीव्रता दिने अपेक्षा सरकारले गरेको छ ।

सरकारी आयोजनालाई प्राथमिकता, निजी क्षेत्रलाई अंकुश ?

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको विकास र विद्युत् उत्पादन वृद्धिका लागि भन्दै चरणबद्ध रूपमा पीपीए खुलाउने नीति अगाडि बढाएका छन् । जसअनुसार पहिलो चरणमा सरकारी स्वामित्वका कम्पनीहरूद्वारा प्रवद्र्धित करिब एक हजार मेगावाट क्षमताका आयोजनाहरूसँग पीपीए सम्झौता गर्ने तयारी नेपाल विद्युत प्राधिकरणले गरेको छ ।

वि.सं. २०७५ सालदेखि ‘रन अफ दी रिभर’ (आरओआर) प्रकृतिका जलविद्युत् आयोजनाहरूको पीपीए रोकिएको अवस्थामा करिब ८–९ वर्षपछि पीपीए प्रक्रिया अगाडि बढेको हुँदा ऊर्जा उद्यमीहरू उत्साहित थिए ।

तर, सरकारले पहिलो चरणमा सरकारी कम्पनीलाई मात्र प्राथमिकता दिएको र निजी क्षेत्रका आयोजनासँग पीपीए गर्नका लागि ‘विद्युत् खरिद सम्झौताको नयाँ प्रारूप’ (फ्रेमवर्क) प्रस्ताव गरेपछि निजी क्षेत्रलाई ‘हात्ति हायो हात्ती आयो फस्सा जस्तै भयो’ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पीपीएको प्रक्रियामा ‘कनेक्सन एग्रीमेन्ट’ प्रमुख प्रक्रिया भएको र सोही अनुसार नै सरकारले पीपीएको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सरकारी क्षेत्र र निजी क्षेत्रको लागि फरक–फरक कानुनको व्यवस्था छैन । त्यसैले सरकारी र निजी क्षेत्रका विद्युत् उत्पादकका लागि एउटै मापदण्ड हुनुपर्छ ।’
एकपक्षीय रूपमा अनौपचारिक तरिकाबाट सरकारले पीपीएको प्रारूप दिन खोजेको तर निजी क्षेत्रले विरोध जनाएपछि उक्त विषय रोकिएको र आगामी दिनमा छलफल भएपछि पीपीए प्रारूपको विषयमा थाहा हुने पनि अध्यक्ष डाँगीले जानकारी गराए ।
नयाँ प्रस्तावित मापदण्डले अब उत्पादन अनुमतिपत्र र ग्रिड जडान सम्झौता ‘कनेक्सन एग्रिमेन्ट’ भएकै आधारमा पीपीए नहुने व्यवस्था गरेको छ । बरु, निजी क्षेत्रका आयोजनाले पीपीएका लागि तीन चरणको कडा परीक्षा उत्तीर्ण गर्नुपर्ने सर्त अघि सारिएको छ ।
के छ त नयाँ मापदण्डमा ?
सरकारले पीपीए प्रक्रियालाई वस्तुनिष्ठ, पारदर्शी र प्राधिकरणको वित्तीय क्षमताले धान्न सक्ने बनाउने दाबी गर्दै तीन चरणको मूल्याङ्कन प्रणाली प्रस्ताव गरेको छ । तर, ऊर्जा उत्पादकहरूले भने यसलाई निजी क्षेत्र निमोठ्ने प्रपञ्चका रूपमा व्याख्या गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रस्तावित मापदण्डमा पहिलो चरणमा ६ वटा अनिवार्य पूर्वसर्त हुनुपर्ने भनिएको छ । नयाँ फ्रेमवर्कअनुसार पीपीएका लागि आवेदन दिने आयोजनाले पहिलो चरणमै ६ वटा अनिवार्य योग्यता पूरा गर्नुपर्नेछ ।
जसमा कानुनी वैधता, वन तथा संरक्षित क्षेत्रसम्बन्धी स्वीकृति, अद्यावधिक ग्रिड जडान सम्झौता, प्रसारण पूर्वाधारको सुनिश्चितता, सुक्खायाममा कुल ऊर्जाको कम्तीमा ३० प्रतिशत उत्पादन हुनुपर्ने छ ।
यी ६ वटै सर्त पूरा नगर्ने निजी क्षेत्रका आयोजना दोस्रो चरणको मूल्याङ्कनमा सहभागी हुन नै पाउने छैनन् । विशेषगरी नदी प्रवाही (आरओआर) आयोजनाहरूका लागि सुक्खायाममा ३० प्रतिशत ऊर्जा उत्पादन सुनिश्चित गर्नु प्राविधिक र प्राकृतिक रूपमा अत्यन्तै कठिन हुने उद्यमीहरूको भनाइ छ ।
अर्को भनेको निजी क्षेत्रका लागि १०० पूर्णाङ्कको मूल्याङ्कन र ५० अङ्कको तगारो बनेको छ ।
पहिलो चरण उत्तीर्ण गरेका आयोजनाहरूलाई दोस्रो चरणमा विभिन्न ६ वटा सूचकका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिने व्यवस्था प्रस्ताव गरिएको छ । जसमा प्रणालीगत योगदान तथा प्राविधिक सान्दर्भिकता ३० अङ्क, विद्युत् प्रसारण तथा ग्रिड तत्परता ३० अङ्क, जोखिम बाँडफाँड तथा पीपीए संरचनामा २५ अङ्क, आयोजना पूर्वतयारीमा ५ अङ्क, जलवायु उत्थानशीलता तथा बहुउद्देश्यीय उपयोगितामा ५ अङ्क, रणनीतिक तथा क्षेत्रीय महत्त्वमा ५ अङ्कको व्यवस्था गरिएको छ ।
यस मूल्याङ्कनमा ५० अङ्कभन्दा कम ल्याउने आयोजनासँग पीपीए नै नगरिने कडा व्यवस्था राखिएको छ । साथै, ५० अङ्क कटाउने आयोजनाहरूलाई पनि प्राप्त अङ्कका आधारमा ए, बी, सी र डी गरी चार वर्गमा विभाजन गरिनेछ । प्रवद्र्धकको विगतको कार्यसम्पादन कमजोर देखिएमा २० अङ्कसम्म कटौती गर्न सकिने प्रावधानप्रति पनि इप्पानले आपत्ति जनाएको छ ।
तेस्रो चरणमा वार्षिक खरिद सीमा र टेक अर पेमा कडाइ :
दुई चरण पार गरेपछि पनि आयोजनाले स्वत: पीपीए पाउने छैनन् । तेस्रो चरणमा नेपाल विद्युत् प्राधिकरणले प्रत्येक आर्थिक वर्षका लागि पीपीएको वार्षिक सीमा निर्धारण गर्नेछ ।
जसमा नयाँ सम्झौता गरिने अधिकतम क्षमता, आयोजनाको निर्माण अवधि, अधिकतम ऊर्जा खरिद परिमाण, ‘टेक अर पे’ (लिउ वा तिर) को जोखिम र प्राधिकरणको वार्षिक भुक्तानी दायित्वलाई आधार बनाएर मात्र सीमित आयोजना छनोट गरिने उल्लेख छ ।
यसले गर्दा सबै मापदण्ड पूरा गरेका आयोजनाले पनि वर्षौंसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।
किन आक्रोशित छन् निजी क्षेत्रका ऊर्जा उत्पादकहरू ?
सरकारको यो कदमविरुद्ध स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आपत्ति जनाएको छ । इप्पानको कार्यसमिति बैठकले प्रस्तावित मापदण्ड नमान्ने निर्णय गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।
सरकारी स्वामित्वका कम्पनीहरूसँग पुरानै प्रक्रियाअनुसार करिब १ हजार मेगावाटको पीपीए अघि बढाउने तर निजी क्षेत्रका आयोजनालाई भने तीन चरणको झन्झटिलो र कडा मापदण्डको घेरामा हाल्ने सरकारी नीति पूर्ण रूपमा विभेदकारी रहेको उद्यमीहरूले आरोप लगाएका छन् ।
विगतमा कनेक्सन एग्रिमेन्ट (ग्रिड जडान सम्झौता) गरेका आधारमा क्रमश: पीपीए गर्दै जाने सहमति भएकोमा अहिले सरकारले उक्त प्रक्रिया मिच्न खोजेको इप्पानका अध्यक्ष डाँगीले बताए ।
लामो समयदेखि पीपीए खुल्ने आशामा निजी क्षेत्रका प्रवद्र्धकहरूले अध्ययन, लाइसेन्स नवीकरण, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र पहुँचमार्ग निर्माणमा अर्बौं रुपैयाँ खर्च गरिसकेका छन् । अब आएर ५० अङ्क नल्याए पीपीए नै नहुने वा सुक्खायाममा ३० प्रतिशत ऊर्जा अनिवार्य हुनुपर्ने जस्ता सर्त राख्दा वर्षौंदेखि गरिएको अर्बौंको लगानी डुब्ने खतरा बढेको इप्पानका पदाधिकारीहरू बताउँछन् ।
अनावश्यक चरणहरू थपेर र कडा सर्त राखेर ल्याइएको यो फ्रेमवर्कले स्वदेशी तथा विदेशी लगानीकर्तामाझ अत्यन्तै नकारात्मक सन्देश प्रवाह गर्ने पनि ऊर्जा उत्पादकले बताएका छन् । नेपालको ऊर्जा क्षेत्रको कुल जडित क्षमतामा निजी क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको अवस्थामा निजी क्षेत्रलाई निरुत्साहित गरेर सरकारले लिएको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन र निर्यातको दीर्घकालीन लक्ष्य पूरा हुन नसक्ने उद्यमीहरूको तर्क छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको सुधार र लाइसेन्स राजको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै पीपीए प्रक्रिया अघि बढाउनु सकारात्मक कदम मानिए पनि सरकारी र निजी क्षेत्रबीच देखिएको दोहोरो मापदण्डले गम्भीर नीतिगत विवाद निम्त्याएको छ ।