काठमाडौं । ईसेवा मनी ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बजुराको पार्वती माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका प्रमुख व्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् ।
शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत कोइरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनी ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
विसं २०३९ सालमा स्थापना भएको मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका-९ मा अवस्थित पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । साथै सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन् ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफरले परम्परागत शैलीसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । ईसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो, जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ ।
FACEBOOK COMMENTS