काठमाडौं । गायक दीपेश विष्टको नयाँ गीत ‘कोइली वनैमा’ सार्वजनिक भएको छ ।
डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दीपेश विष्ट र शान्तिश्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतको लय युस्कल छिनालले दिएका हुन् । त्यसैगरी संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन् ।
यस गीतमा गाउँघरमा केटाकेटीबीच बसेको मायाप्रेमलाई मुख्य कथावस्तु बनाइएको छ । गीतमा केटाले आफूले मनपराएको केटीलाई तिम्रो मनमा म भए पनि नभए पनि तिमी भने मेरो मनमा सधैं भइरहनेछ्यौ भन्ने कुरा देखाउन खोजिएको छ । त्यसैगरी केटीले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन, त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्दमार्फत देखाउन खोजिएको छ ।
लामो समय नेपाली गीतसंगीतमा लागेका गायक दीपेश विष्ट भन्छन्, ‘आफूले गरेका सबै गीत उत्तिकै राम्रा लाग्छन् । अझ यो गीत मैले मात्र हैन हाम्रो सम्पूर्ण टिमले नै धेरै मेहनत गरेर तयार पारेका छौं । त्यसैले पनि यो गीत हाम्रो तर्फबाट उत्कृष्ट लागेको छ ।’
युट्युबमा हालेदेखि नै यस गीतलाई धेरैले मनपराएका छन् । गीतको म्युजिक भिडिओको निर्देशन विनोद भण्डारीले गरेका हुन् भने गीतको मुख्य भूमिकामा पनि भण्डारी आफैं रहेका छन् । साथमा उनलाई जुना विश्वकर्माले साथ दिएकी छन् ।
मालाश्री स्टुडिओमा रेकर्डिङ गरिएको यस गीतको म्युजिक भिडिओको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
भिडिओ-
FACEBOOK COMMENTS