काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतीहरूबारे सरकारी क्षेत्र, विद्यार्थी, व्यावसायिक तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूबीच महत्त्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्ठीमा सहभागीहरूले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतीका सवालमा छलफल र बहस गरे ।
संगोष्ठीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराधहरू भइरहेको तथा साइबरसम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यावसायिकताका बारेमा कलेजका विद्यार्थीहरूलाई सचेतना दिन संगोष्ठी आयोजना गरिएको बताए । साइबर सुरक्षा संगोष्ठीबाट विद्यार्थीहरूले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक, प्राविधिक ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
संगोष्ठीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साइबर अपराध, साइबर सुरक्षा र कानुनलाई बलियो बनाउन काम गरिरहेको बताए । उनले सरकारी तवरबाट आम नागरिकलाई साइबरसम्बन्धी सचेतना दिने कार्यसँगै कानुनमा रहेका कमजोरीहरू सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकाले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराधबारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए ।
संगोष्ठीमा बोल्दै राष्ट्रिय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले नेपालको साइबर कानुन, साइबर अपराधका बारेमा सहभागीहरूलाई जानकारी गराए । उनले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुखद् भएको बताउँदै नेपालमै रहेर भीओआईपी प्रयोग गरी साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकाले विद्यार्थीहरूलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरे ।
कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले साइबर सुरक्षा संगोष्ठीले विद्यार्थीहरूलाई साइबर सुरक्षा, कानुन र अपराधका बारेमा ज्ञान दिने जिकिर गरे । उनले इन्टरनेटको माध्यमबाट हुने अपराधहरूबारे विशेषगरी युवापुस्ता विद्यार्थीहरूले बढी जानकारी लिनुपर्नेमा जोड दिए ।
ईसेवाका इन्जिनियर सुदीप पाठकले निजी क्षेत्रले खासगरी रकम भुक्तानीसम्बन्धी साइबर सुरक्षा, समस्या र चुनौती तथा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराए ।
संगोष्ठीमा साइबर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खनाल, ल इम्पेरियलका प्रबन्ध निर्देशक सुरेन्द्र तिवारी, मेरो शिक्षाका संस्थापक अनुप उप्रेती, आईसीटी अवार्ड विजेता क्रिमसन टेकका रूकेश दुवाल, कलेजका कम्प्युटर डिपार्टमेन्टका प्रमुख जितबहादुर बोहरा, विद्यार्थी कल्याण समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।
दुई दिनसम्म चलेको साइबर सुरक्षा संगोष्ठीमा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS