भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भएको छ ।
भक्तपुर दरबारस्क्वायमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताए । उनले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गरे ।
अहिले सुरु गरिएको भ्रमण वर्षले नेपाल र चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास मन्त्री खड्काले व्यक्त गरे । “पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम भइरहेकाका छन्”, उनले भने, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलको स्तरोन्नति र विस्तार कार्य भइरहेको छ ।”
नेपालको सामाजिक, आर्थिक विकासमा पर्यटन क्षेत्रको सम्धावना र महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजनाबद्ध रूपमा काम गरिरहेको मन्त्री खड्काले जानकारी दिए । प्रदेश र स्थानीय तहले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमका रूपमा प्राथमिकतामा राख्दै आएका उनले बताए ।
नेपालका लागि चिनियाँ राजदूत सङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए । नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल–चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायत क्षेत्रमा भइरहेका सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौँपुस्तादेखिको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको उल्लेख गरे ।
दुई देशबीच भएका सहमति कार्यान्वयनको सिलसिलामा भ्रमण वर्ष २०२५ आयोजना गरिएको राजदूत सङले बताए । “सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवर्द्धनात्मक गतिविधि आयोजना गर्न नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नेछौँ”, उनले भने, “यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृति आदानप्रदान एवं सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दछौँ ।”
नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन क्षेत्रमा भएका सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउन नेपाल पर्यटन वर्ष २०२५ आयोजना गरिएको राजदूत सङको भनाइ थियो ।
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल रहेको बताउँदै यहाँका उच्च हिमालय, पर्वत शृङ्खला, चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यता, लुम्बिनी, काठमाडौँ, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको उनले धारणा राखे ।
FACEBOOK COMMENTS