काठमाडौं । यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को आज काठमाडौँमा पहिलो प्रदर्शनी (प्रिमियर शो) गरिएको छ ।
प्रिमियर शोमा उपस्थितले चलचित्रको विषयवस्तुको प्रसंशा गरे । शुक्रबारदेखि चलचित्र सार्वजनिक प्रदर्शन गरिने तयारी छ । यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भएपनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताए ।
उनले भने, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु ।” उनले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाए । यस पात्रका लागि उहाँले कविको पृष्ठभूमि तयार गरे ।
चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई छन् । उनले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताए । उनले भने, “म कवि होइन र ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस गरेको छैन । त्यसैले त्यो पात्रलाई न्याय गर्न एउटा अभिनेताका रुपमा सक्दो मेहनत गरेँ ।”
अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताए । “हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो । नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ । समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रम चलचित्रमा प्रस्तुत छ ।”
‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरे ।
प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरे ।
FACEBOOK COMMENTS