काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढेको छ । यसका लागि सिफारिस समितिले आज दरखास्त आह्वान गरेको छ ।
अघिल्ला सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएपछि अहिले कामु सीईओका रूपमा प्रबन्धक निरञ्जन फुयाँलले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्त पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो, जसमा सहसचिव अमृत लम्साल सदस्य र डा. खोमराज खरेल विज्ञ सदस्य छन् ।
समितिले प्राप्त दरखास्तको मूल्यांकन गर्नेछ र पाँच जनाको नाम सर्टलिस्ट गर्नेछ । त्यसपछि कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिनेछ । यी तीन जनामध्ये एक जनालाई सीईओ नियुक्त गरिनेछ ।
नेप्सेमा सीईओ पदका लागि खुला प्रतिस्पर्धामा भाग लिन इच्छुक र योग्य उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिहरूले फागुन १८ गतेसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन र संस्थान समन्वय महाशाखामा आवेदन बुझाउनु पर्नेछ । साथै आवेदन पत्रसँग गोप्य खाममा व्यावसायिक कार्ययोजना समावेश गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS