सप्तरी । बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँलगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् । केही दिनअघि आएको हावाहुरी र असिनापानीका कारण बाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाका–१ भारदहका फुलेन्द्र राउतले व्यापार छोडेर नौ बिघामा मकै र गहुँखेती गरे । हावाहुरी, वर्षा र असिनाले खेतमा लगाइएको अधिकांश बाली नष्ट गरेपछि आम्दानीको स्रोत के हुने भन्ने चिन्ता बढेको उनले बताए ।
कृषि पेसाबाट आम्दानी गर्ने उद्देश्यले व्यापार छाडेर खेतीमा लागेको बताउँदै उनले गहुँखेतीमा एक लाख लगानी गरेको जानकारी दिए । “मकैमा लगाउँदा प्रतिकट्ठा ६० किलो खाद्य (बीउ) आवश्यक पर्दछ । करिब छ बिघा अर्थात् एक सय २० कट्ठामा सात हजार दुई सय किलो बीउ लागेको थियो, अन्य लगानी पनि छँदैछ”, राउतले भने । गहुँ फूल लाग्ने बेलामा झरेकाले फल्ने आशा नरहेको उनले बताए । मकैमा पनि केही हुने हो वा होइन अन्योल रहेको उनको भनाइ छ ।
भारदहका अर्को किसान अशोक माझीले पनि डेढ बिघामा गहुँ र १० कट्ठामा मकै लगाए । करिब ३६ प्रतिशत ब्याजदरमा गाउँमा रु एक लाख २० हजार ऋण लिएर खेती सुरु गरेको बताउँदै उहाँले बाली सबै नष्ट भएपछि ऋण कसरी तिर्ने भनेर चिन्ताले सताएको उल्लेख गरे । “उब्जा भएपछि मकै बेचेर सबै ऋण तिरिदिन्छु र गहुँले आफ्नो परिवारलाई पुगेर केही आम्दानी पनि हुन्छ भने आशा थियो तर वर्षा र असिनाले सब सखाप गरिदियो”, माझीले भने, “अहिले त आफ्नो परिवारलाई खान पुग्ने उत्पादन भए हुन्थ्यो भन्ने कामना छ ।”
यहाँका वासुदेव लौगीको अवस्था पनि उस्तै छ । उनले पनि गाउँमा६० हजार ऋण लिएर एक बिघामा गहुँ र मकै खेती गरे । उनका अनुसार उब्जाको आश भने समाप्त भइसकेको छ । यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मेहनत बगाएको थियो भने अहिलेको वर्षाले गहुँ, मकै र केराखेती नष्ट गरेको छ ।
यी तीनजना उदाहरण पात्र मात्र हुन् । हनुमाननगर कङ्कालिनी–१ का वडाध्यक्ष सुरेन्द्र मण्डलका अनुसार वर्षा र असिनाले भारदहका दुई सय बढी किसान प्रभावित बनेका छन् । उनले कृषकको अवस्था दयनीय रहेको भन्दै यस्ता विपद्का घटनाले उहाँहरूलाई थप पीडा दिने गरेको बताए ।
वडाको बजेटबाट कृषकका लागि केही खास गर्न सक्ने अवस्था नरहेको भन्दै मण्डलले पीडित किसानको राहतका लागि प्रदेश र सङ्घ सरकारसँग आग्रह गरेको बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारले स्थानीय तहसँग समन्वय गरी पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS