काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन दिने समय थप एक साताले लम्बिएको छ।
सीइओ नियुक्तिका लागि गठित सिफारिस समितिले नयाँ म्याद थप्दै फागुन २५ गते आइतबारसम्म आवेदन खुला राख्ने निर्णय गरेको हो।
यसअघि फागुन १८ गतेसम्म तोकिएको तर बीचमा ३ दिन सार्वजनिक बिदा परेपछि समय अपुग भएको भन्दै समितिले यो कदम चालेको हो। खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागिएको यो पदका लागि योग्य उम्मेदवारहरूलाई थप अवसर प्रदान गर्न समयावधि बढाइएको समितिले जनाएको छ।
सीइओ पदका लागि आवेदन दिन चाहने उम्मेदवारसँग अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तहको डिग्री वा चार्टर्ड एकाउण्टेन्सी वा सोसरहको शैक्षिक योग्यता हुनुपर्नेछ। त्यस्तै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा बिताएको अनुभवसहित कुल १५ वर्षको कार्य अनुभव अनिवार्य शर्त तोकिएको छ।
सिफारिस समितिको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले गरेका छन्। समितिमा सहसचिव अमृत लम्साल र डा . खोमराज खरेल सदस्य छन्। यो समितिले योग्य उम्मेदवारको सिफारिस गरेपछि अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। यसअघिका सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल गत माघ २४ गते सकिएको थियो।
नेप्सेको नेतृत्वमा को आउला भन्ने कौतुहलता बढिरहँदा यो थपिएको म्यादले थप रोमाञ्चक उम्मेदवारहरूको सहभागिता निम्त्याउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS