काठमाडौँ । शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्तामा आपसमा नोकझोँकपछि विश्व राजनीति तरङ्गिग छ । युक्रेन र रूसबीचको युद्ध अन्त्य गर्ने विषयमा सवालजवाफ हुँदा उक्त नोकझोँक भएको थियो ।
यसैबीच, यस घटनाक्रमपछि अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले युक्रेनी राष्ट्रपतिलाई गरेको व्यवहारविरूद्ध असन्तुष्टि जनाउँदै अमेरिकामै विरोध प्रदर्शन भएको छ । न्यूयोर्क, लस एन्जलस र बस्टनमा सयौँ मानिसहरूले युक्रेनको समर्थनमा प्रदर्शन गरेका हुन् ।
त्यसैगरी, वरमोन्को भ्याट्सफिल्डमा पनि प्रदर्शनकारीहरू युक्रेनको समर्थनमा नारासहितका प्लेकार्ड बोकेर सडकमा देखिए ।
उपराष्ट्रपति जेडी भेन्स आफ्ना परिवारसँग छुट्टी मनाउन र स्कीइङ गर्न भरमोन्ट पुगेका थिए ।
अमेरिकी मिडियामा प्रकाशित रिपोर्टहरूअनुसार प्रदर्शनपछि सुरक्षाका कारण उपराष्ट्रपति भेन्स र उनको परिवारलाई कुनै अज्ञात स्थानमा सारिएको छ ।
प्रदर्शनकारी कोरी गिरक्सले ओभल अफिसमा भएको घटनाक्रमबारे प्रतिक्रिया दिँदै भने, ‘जेडी भेन्सले हद पार गरे ।’
यसअघि उपराष्ट्रपति भेन्सको भ्रमणका कारण भरमोन्टका गभर्नर फिल स्कटले स्थानीय बासिन्दाहरूलाई भेन्स र उनको परिवारलाई सम्मानजनक व्यवहार गर्न आग्रह गरेका थिए ।
FACEBOOK COMMENTS