काठमाडाैं । भारतको महाराष्ट्रस्थित साँगलीमा बीमाको रकम हत्याउन एक महिलाले आफ्ना छोरासँग मिलेर श्रीमानको हत्या गरेको खुलासा भएको छ।
भारु १ करोड बराबरकाे को बीमा रकम हत्याउनका लागी श्रीमती, छोरा र छोराका साथीकाे संलग्नता थियाे । महाराष्ट्र प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बनिता बाबुराव पाटिल, उनका छोरा तेजस बाबुराव पाटिल र छोराका साथी भीमराव गणपतराव हुलवान छन्। हत्या गरिएका ५६ वर्षीय किसान बाबुराम पाटिलको नाममा भारु १ करोडको बीमा थियो। प्रहरीका अनुसार बनिता र तेजसले सुरुमा बाबुरामलाई आत्महत्या गर्न दबाब दिए, तर उनले अस्वीकार गरेपछि हत्याको योजना बनाए।
घटना गत फेब्रुअरी १० मा मिरज–पंढरपुर राजमार्गको लान्डेवाडी नजिक बिहान २ /३ बजे भएको थियो। बाबुरामको शव होटल आर्य नजिकै फेला परेपछि उनका भाइ सागर पाटिलले प्रहरीलाई खबर गरे। सुरुमा दुर्घटनाको रुपमा दर्ता गरिए पनि आमा–छोराको बयान र मोबाइल लोकेसनको आधारमा प्रहरीले अनुसन्धान थाल्यो। उनीहरुले कराडमा रहेको दाबी गरे पनि लोकेसनले झुट पुष्टि गर्यो।
सोधपुछमा बनिता र तेजसले हत्या स्वीकार गरे। उनीहरुले बाबुराममाथि ५० लाख ऋण रहेको र बैंकको ताकेता बढेपछि बीमाको रकमबाट ऋण तिर्न हत्या गरेको बताए। बैंकले घर लिलामीको सूचना जारी गरेपछि उनीहरुले बाबुरामलाई आत्महत्या गर्न प्रेरित गरे, तर सफल नभएपछि टाउकोमा ढुंगाले हानेर हत्या गरी दुर्घटना देखाउन खोजे। प्रहरीले यो षड्यन्त्रको सफलतापूर्वक पर्दाफास गरेको छ।–एजेन्सी
FACEBOOK COMMENTS