ललितपुर । चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता भनेर चिनिएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध मुद्दा दाएर भएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा लिएको सामग्रीको भुक्तानी नगरेको भन्दै पञ्चकन्या स्टिल्सले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।
पञ्चकन्या स्टिल्सका अनुसार, धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि छड लिएको तर त्यसको रकम तिर्न बाँकी रहेकाले कानुनी कारबाही अघि बढाएको हो ।
कम्पनीले ५२ लाख दुई हजार ५५५ रुपैयाँ भुक्तानी नपाएको दाबी गर्दै लेनदेन कसूरअन्तर्गत मुद्दा हालेका हो ।
रंगशाला निर्माणका लागि देश–विदेशबाट सहयोग उठाइए पनि रकम व्यवस्थापनमा समस्या देखिएपछि रंगशाला निर्माण कार्य अलपत्र परेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले अन्य १३६ कम्पनीलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ समेत तिर्न सकेको छैन । धुर्मुसले हालसम्म रंगशालामा ५४ करोड खर्च भइसकेको र १६ करोड ऋण लागेको दाबी गरेका छन् ।
रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तलीले ठूलो मात्रामा चन्दा संकलन गरेका थिए । २०७५ सालमा सुरु भएको परियोजना तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, हालसम्म रंगशालाको निर्माण ५० प्रतिशत पनि पूरा भएको छैन ।
हाल निर्माण कार्य जारी रहे पनि विभिन्न कम्पनीको १८ करोडभन्दा बढी भुक्तानी अझै बाँकी रहेको छ । धुर्मुसले भने बाँकी भुक्तानी सरकारले गर्नुपर्ने बताएका छन् । तर, सरकारले हालसम्म कुनै ठोस निर्णय गरिसकेको छैन ।
२०७९ चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्दै निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । त्यसपछि महानगरले ग्लोबल टेन्डर आह्वान गरी हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई निर्माण जिम्मा दिएको छ ।
FACEBOOK COMMENTS