काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानूनभन्दा माथि नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो धारणा व्यक्त गरेका हुन्।
मन्त्री खड्काले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएको कारण कुलमानलाई शून्य अङ्क दिइएको प्रष्टीकरण दिए। उनले प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्ने निर्णय गरे पनि घिसिङले त्यसलाई अटेर गरेको आरोप लगाए।
यस्तै, मन्त्री खड्काले नेपालमा लोडसेडिङ अन्त्यको श्रेय छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताए। उनले भने, “४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो। त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु, लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ।”
केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै मन्त्री खड्काले लोडसेडिङको अन्त्य एकजना व्यक्तिको मात्र योगदान नभएको जिकिर गरे। “उहाँ (कुलमान घिसिङ) एक जनाले मात्रै गरेको होइन। कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला, त्यसमा छलफल गरौँ। उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौँ भनेको छ र? उहाँलाई धन्यवादै दिन सकिन्छ,” उनले भने।
मन्त्री खड्काले कुलमानले पुसमा मन्त्रालयलाई ९८.९९ प्रतिशत कार्यसम्पादन आएको भनेर जानकारी दिए पनि पटक-पटक माग्दा बेवास्ता गरेको गुनासो गरे। “यहाँ धेरै शिक्षक साथीहरू हुनुहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ। यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ?” उनले प्रश्न गरे।
उनले थपे, “यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ। त्यस्तो होइन है माननीयज्यूहरू। यो भ्रममा नपरौँ भन्न चाहेको हुँ।”
FACEBOOK COMMENTS