काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार विमानस्थलमा स्वागत गर्न जम्मा भएको भीडमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन भएको घटनाले नयाँ विवाद सिर्जना गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले यो कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको भन्दै गम्भीर आरोप लगाएका छन्।
शाहीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले योगी आदित्यनाथको फोटो राख्न लगाएको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइयो। नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई प्रभावित गर्न यस्तो नीच कार्य गरिएको छ, छिः छिः।’
शाहीले यो घटनालाई नेपाली राष्ट्रियतामाथिको अपमानको संज्ञा दिँदै विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूप्रति आक्रोश व्यक्त गरेका छन्। उनले थप प्रश्न उठाउँदै भने, ‘मार्क्स, लेनिन र माओ कुन देशका हुन्रु विदेशीको सिद्धान्त बोकेर ठूला कुरा गर्नेहरूलाई देख्दा अचम्म लाग्छ।”
आइतबार विमानस्थल क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतका क्रममा योगी आदित्यनाथको फोटो प्रयोग भएको विषयले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा र आलोचना भइरहेको छ। यो घटनाले राजनीतिक तरंग ल्याएको छ भने राप्रपाले यसलाई सरकारको नियोजित षड्यन्त्रको रूपमा व्याख्या गरेको छ।
FACEBOOK COMMENTS