काठमाडौं । नेपालका लागि युगाण्डाका नवनियुक्त राजदूत जोयस काकुरामात्सु किकाफुन्डाको उपस्थितिमा काठमाडौंमा दुई देशबीचको व्यापार र लगानीसम्बन्धी छलफल सम्पन्न भएको छ। एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) को आयोजनामा भएको उक्त छलफलमा युगाण्डाका गैरआवासीय नवनियुक्त राजदूत प्रोफेसर किकाफुन्डाले नेपाल र युगाण्डाबीच धेरै समानता रहेको उल्लेख गर्दै नेपाली व्यवसायीहरूलाई युगाण्डामा लगानी गर्न अनुरोध गरिन्।
उनले नेपाल र युगाण्डाको प्रतिव्यक्ति आय र जनसंख्या लगभग समान रहेको जानकारी दिँदै विश्व मञ्चहरूमा दुवै देशले संयुक्त रूपमा उपस्थिति जनाएको बताइन्। नेपाल आगामी वर्ष अल्पविकसित राष्ट्रको समूहबाट विकासोन्मुख राष्ट्रको समूहमा स्तरोन्नति हुने तयारीमा रहेको र युगाण्डा पनि गत वर्ष यो स्तरका लागि योग्य भएको उनले बताइन्।
राजदूत किकाफुन्डाले युगाण्डामा लगानीमैत्री वातावरण रहेको र लगानीकर्ताहरूलाई उद्योग स्थापनाका लागि निःशुल्क जमिन, आयकरमा छूटलगायत विभिन्न सुविधा उपलब्ध गराइने जानकारी दिइन्। यस्तै, युगाण्डाको कफी विश्वमा निकै लोकप्रिय रहेको उल्लेख गर्दै उनले नेपालमा पनि कफीप्रति चासो रहेको थाहा पाउँदा खुसी व्यक्त गरिन्।
यसैगरी, नेपालका लागि युगाण्डाका प्रस्तावित कन्सुलर जनरल व्यवसायी विनय उपाध्यायले नेपाल र युगाण्डाबीच जनस्तरमा सम्बन्ध विस्तार भइरहेको बताए। उनले आगामी दिनमा दुई देशबीच थप लगानी र व्यापारमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा करिब दुई दर्जनभन्दा बढी उद्योगी र व्यवसायीले सहभागिता जनाएर राजदूतसँग युगाण्डामा लगानीका अवसरबारे अन्तरक्रिया गरेका थिए। निर्माण व्यवसायी, पर्यटन व्यवसायी, उद्योगी र व्यापारीहरूले युगाण्डाले लगानीकर्तालाई प्रदान गरेको प्रोत्साहनको खुलेर प्रशंसा गरेका थिए।
FACEBOOK COMMENTS