काठमाडौं । गत आइतबार नेपालको सङ्घीय राजधानी काठमाडौँमा राजसंस्था र हिन्दुराष्ट्र पनुर्स्थापनाकाका पक्षमा अहिलेसम्मकै ठूलो दाबी गरिएको प्रदर्शन भयो । प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह स्वयम् सहभागी थिए । पोखरामा रहेका उनी सो दिन त्यताबाट काठमाडौँ आएका थिए ।
जसै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे, त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्तासहित सयौँ समर्थकहरूले उनको भव्य स्वागत गरे । आफूहरूका राजा आइसकेको र नारायणहिटी दरबार खाली गर्न भन्दै नारा लगाए ।
राजसंस्थाका पक्षमा आवाज उठ्दै आएको धेरै अघिदेखि नै हो । तर, जब प्रजातन्त्र दिवस (फागुन ७) मा पूवर्राजा शाहले भिडिओमार्फत एक सन्देश जारी गरे, त्यसपछि राजसंस्था समर्थकहरू सडकमा आएका हुन् । पूर्वराजाले आफ्नो सन्देशमा देशको रक्षा गर्न र राष्ट्रिय एकता कायम गर्न जिम्मेवारी ग्रहण गर्ने समय आइसकेको बताएका थिए ।
राजसंस्था समर्थकहरूको उक्त प्रदर्शनपछि नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको विषयलाई लिएर विभिन्न कोणबाट धारणाहरू आइरहेका छन् । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना होला वा नहोला, त्यो समयक्रमले बताउने नै छ । तर, प्रदर्शनकारीको भीडमा देखिएको एक दृश्यले भने यतिबेला सबैको ध्यान खिचेको छ । त्यो दृश्य हो– भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहितको पोस्टरको । र, यसभित्रको अन्तर्य के हुन सक्छ भन्ने विषयले धेरैमा जिज्ञासा पनि जगाएको छ । थुप्रैले यसलाई आशङ्कायुक्त नजरले हेरेका छन् ।
नेपालको राजनीतिमा भारतको हस्तक्षेप हुने गरेको आरोप विगतदेखि नै लाग्दै आएको हो । यतिसम्म कि नेपालको सरकार नै भारतको इसारामा बन्छ, चल्छ र ढल्छसम्म भनिन्छ । यस्तोमा देशको वर्तमान शासन व्यवस्था नै खारेज गरेर वर्षौँअघि हटेको शासन व्यवस्था उल्टाउन भएको प्रदर्शनमा भारतीय नेताको तस्बिर प्रयोगलाई लिएर विवाद निम्तिने नै भयो । नेपालका दुई नेताबीच त यस विषयमा सामाजिक सञ्जालमा ठूलै वाकयुद्ध चल्यो । सत्तारूढ दल नेकपा (एमाले) का उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल र राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीबीच वाकयुद्ध चलेको हो । राप्रपा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा वकालत गर्ने पार्टी हो ।
आफूलाई राष्ट्रवादी भन्नेहरूले राजसंस्थाको पक्षमा प्रदर्शन गर्दा विदेशी नेताको तस्बिर प्रयोग गरेको भन्दै एमाले नेता रिमालले उक्त तस्बिरसहित सामाजिक सञ्जालमा कटाक्ष गरेपछि दुई नेताबीच सुरु भएको वाकयुद्ध व्यक्तिगत आक्षेपसम्मै पुग्योे ।
सांसद शाहीले आफूहरूको कार्यक्रमलाई असर पार्न प्रधानमन्त्री ओलीको निर्देशनमा रिमालले नै उक्त तस्बिर राख्न लगाएको आरोप लगाए । जवाफमा नेता रिमालले शाहीको आरोप अस्वीकार गर्दै उनले भ्रम छरेको बताए ।
तर, यस विषयलाई लिएर भएको दुई नेताबीचको विवादले नै उक्त प्रदर्शनमा मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोगको आधिकारिकता पुष्टि गर्न सक्दैन । यसले प्रश्न उठाएको भने अवश्य हो, तर यो उत्तर होइन ।
के हो अन्तर्य ?
स्मरणीय छ, गत जनवरीमा उत्तर प्रदेशको भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए । योगीलाई नेपालमा राजसंस्थाको समर्थन गर्ने भारतीय नेता मानिन्छ । साथै उनी हिन्दुवादी नेता पनि हुन् ।
योगी आदित्यनाथ नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेदेखि नै खुसी थिएनन् । सन् २००६ मा उत्तर प्रदेश सरकारको नेपाल नीतिबारे सोधिएको प्रश्नमा योगीले नेपालमा शान्ति र स्थिरता राजतन्त्रबाट मात्रै सम्भव रहेको भन्दै यो आवश्यक हुने बताएका थिए ।
भारतमा जुनसुकै सरकार सत्तामा आए पनि त्यसको असर नेपालको राजनीतिमा पर्ने गरेको छ । अहिले भारतमा हिन्दुत्ववादी सरकार सत्तामा छ, जसको प्रभाव नेपालमा पनि परिरहेको हो ।
कतिपयको तर्क यो पनि छ कि योगी आदित्यनाथ एक उदाहरणीय हिन्दुवादी नेता हुन् र नेपाललाई पनि त्यस्तै नेताको खाँचो छ । र, त्यसैको सङ्केतस्वरूप प्रदर्शनमा उनको तस्बिर प्रयोग भएको हो ।
जसले योगी आदित्यनाथको तस्बिर प्रयोग गरे, उनै भागे
प्रदर्शनका क्रममा पोस्टरमा मुख्यमन्त्री आदित्यनाथको तस्बिर राप्रपाका कार्यकर्ता प्रदीपविक्रम राणाले प्रयोग गरेका हुन् । उनी काठमाडौँ महानगरपालिका–१६ निवासी हुन् । कतिपयले उनी प्रायोजित हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
यसैबीच, यो घटनाक्रमपछि उनी भागेर भारत पुगेको खुलेको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले उनीसँग कुराकानी गरेको छ । समाचारअनुसार उनी नेपालमा असुरक्षा महसुस गर्दै लुकीछिपी भारतको गोरखपुर पुगेका हुन् ।
५८ वर्षीय प्रदीपविक्रम राणा मङ्गलबार नेपालबाट भागेर गोरखपुर पुगेको समाचारमा उल्लेख छ । भारत सरकार र योगी आदित्यानाथसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै प्रहरीले आफ्नो पिछा गरेकाले भारतमा शरण लिनुपरेको राणाले बताएका छन् ।
उनले योगी आदित्यनाथ हिन्दु र हिन्दुत्वका लागि लगातार लडिरहेकाले सबैका वैश्विक नेता भएको बताए । धार्मिक मान्यताका आधारमा योगी आफूलाई धेरै मनपर्ने राणाको भनाइ छ ।
उनले योगी र भारतका कुनै पनि राजनीतिज्ञसँग आफूले नभेटेको बताए । आफूले योगी आदित्यानाथको तस्बिर कसैको उक्साहट वा प्रायोजनमा प्रयोग नगरेको दाबी उनको छ ।
उनले वर्तमान सरकार नहटेसम्म आफू नेपाल नफर्कने पनि बताए । साथै उनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि अन्तिम श्वासम्म आफ्नो लडाइँ जारी रहने बताए ।
FACEBOOK COMMENTS