काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ता नेपाली उपभोक्ताको सार्वभौम अधिकारबारे अन्तर सम्वाद कार्यक्रम सम्पन्न गरेको हो ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मञ्चले ‘स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा उपभोक्ता अधिकारको सुनिश्चितता, बजार अनुगमन, भ्रष्टाचार नियन्त्रण तथा नीति कार्यान्वयनका विषयमा गहन छलफल गरिएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिए ।
मञ्चका अध्यक्ष महर्जनको सभापतित्व र कर्पोरेट खबर डट कमसँगको सहकार्यमा आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू संघीय प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खान, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाल र काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठलगायतको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले देशमा सुधारका लागि कडा कदम आवश्यक रहेको बताए । उनले नेताहरू र कर्मचारीहरूको घरमा लुकेको कालोधनका कारण उपभोक्ता मारमा परेको चर्चा पनि गरेका छन् । मुलुकमा नोटबन्दी गरेर कालोधन तह लगाउनुपर्ने धारणा उनको छ ।
‘नोटबन्दी नगरेसम्म देशमा सुधार आउँदैन । भ्रष्टाचार, घुसखोरी र अनियमितताका कारण उपभोक्ता मारमा परेका छन्,’ उनले भने, ‘उपभोक्ता अदालतको इजलास प्रत्येक जिल्ला अदालतमा राखिनुपर्छ र कालोधन नियन्त्रणका लागि प्रमुख नाकामा गुणस्तरीय प्रयोगशाला (ल्याब)को व्यवस्था गरिनुपर्छ ।’ उनले नीति निर्माणका निर्णयहरू व्यवहारमा कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै निर्देशन दिँदा पनि कार्यान्वयन नभएको तथा ताकेता गर्दा पनि जवाफ नआएको आक्रोश व्यक्त गरे ।
यस्तै, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपाली बजार उत्पादनभन्दा बढी आयातमा निर्भर रहेको बताउँदै भन्सार नीतिहरू उपभोक्ता अनुकूल बनाउनुपर्नेमा जोड दिए । ‘भन्सार प्रक्रियामा अनियमितता रहेको र बिजकहरू प्रेडिक्टेबल नहुँदा उपभोक्ताहरू मारमा परेका छन्,’ उनले भने ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारी निकायहरूबीच समन्वयको अभाव रहेको बताउँदै राजनीतिक हस्तक्षेपका कारण व्यवसायीहरू समस्यामा परेको बताए । उनले बजार नियमनमा राज्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने र साना व्यवसायीहरूको सुरक्षाका लागि आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिए ।
यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारलाई मानव अधिकारका रूपमा लिनुपर्ने बताउँदै सरकार र व्यवसायी दुवैले जिम्मेवार बन्नुपर्नेमा जोड दिए । भ्रष्टाचारकै कारण उपभोक्ता मारमा परेको चर्चा गर्दै उनले नेपालमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपभोक्तासमक्ष पुर्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले उपभोक्ता अदालत स्थापनादेखि नीति कार्यान्वयनमा पारदर्शिता अपनाउनु आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा कर्पोरेट म्यागजिनका अध्यक्ष तथा प्रधान सम्पादक उज्वलजंग शाहले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी जनताका लागि सुरक्षा, छनौट, सूचना र सुनुवाइको अधिकार तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा संयुक्त राष्ट्र संघले त्यो दिनलाई उपभोक्ता अधिकार दिवसको रूपमा मनाउने गरेको छ । त्यस्तै नेपालमा सन् १९९५ देखि सरकारी स्तरमा नै प्रत्येक वर्षको मार्च १५ का दिन विश्व उपभोक्ता अधिकार दिवसको रूपमा मनाउँदै आएकोछ ।
यसै सन्दर्भमा राष्ट्रिय उपभोक्ता मन्चले आफ्नो स्थापनाकालदेखि यस दिनलाई विशेष पर्वको रूपमा हरेक वर्ष अत्यन्त उत्साहका साथ मनाउँदै आएको मञ्चका अध्यक्ष महर्जन बताउँछन् ।
FACEBOOK COMMENTS