दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू कामकाज ठप्प पारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ ले नेपालको श्रम कानुन पालना नगरेको भन्दै श्रमिकहरू कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । ठेकेदार कम्पनीमाथि दबाब सृजना गर्ने उद्देश्यले उनीहरूले आज आयोजनास्थलबाट १६ किलोमिटर टाढा रहेको स्थानीय मुकाम सिंगटी बजारदेखि गोंगरसम्म र्याली आयोजना गरेका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा आजदेखि हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् । यस्तै, श्रमिकहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट–१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूको योजना छ ।
सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिएका छन् । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए ।
उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।
‘एक हप्ताभित्र सबै नेपाली श्रमिकहरूलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो काम नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापलाई पुनः ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन,’ अर्का कामदार मदन कुमार श्रेष्ठले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसै अनुसार अघि बढ्छौँ ।’
उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धि/ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्न/बनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।
नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।
हेर्नुहाेस् भिडिओ–
FACEBOOK COMMENTS