काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच बैंकका ग्राहकहरूलाई अस्पतालको विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको छ। यो समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
उक्त सहमतिमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन्। सहमति अनुसार, ग्लोबल आइएमई बैंकका डेबिट/क्रेडिट कार्ड र मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूले अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट पाउनेछन्।
अस्पतालले बैंकका ग्राहकहरूलाई सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपीडी र अपरेशनलगायतका सेवाहरूमा यो छुट उपलब्ध गराउनेछ। यो साझेदारीले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उचित मूल्यमा प्राप्त हुने र अस्पतालको स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अस्पतालका अध्यक्ष पोखरेलले बताए। उनले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धता झल्काउने उल्लेख गरे।
यसैगरी, ग्लोबल आइएमई बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले यो सहकार्यले ग्राहकहरूलाई लाभ हुने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरिन्। ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले यस्ता समयसान्दर्भिक छुट योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको उनले बताइन्।
ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो र वित्तीय सूचकका आधारमा देशकै ठूलो वाणिज्य बैंक हो। बैंकले तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ५० लाखभन्दा बढी ग्राहकलाई विभिन्न सेवा र सुविधासहित उत्कृष्ट अनुभव प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
FACEBOOK COMMENTS