भोजपुर स् रामप्रसादराई गाउँपालिका ६, बैकुण्ठेका महेश गेलाल यतिबेला मल खोज्ने दौडधूपमा छन्। उनी कहिले गाउँपालिका त कहिले ६ घण्टौं पैदल हिँडेर सदरमुकाम धाउँछन्। मल पाइने आशले बजारका कुनाकाप्चा पनि चहारे। तर, मल कतै पाएनन्। मकै गोड्ने बेला बितिसकेको छ। मल नपाएपछि उनले यो वर्ष मकैमा मल हालेनन्। रोप्ने बेलाको धानको बीउ पनि मल नहुँदा पहेँलो भइ मर्न थालेको छ। जसोतसो खेती उतार्न खोजे पनि मल नै नभएपछि उनी निराश बनेका छन्।
जिल्लाभर नै यतिबेला रासायनिक मलको हाहाकार मच्चिएको छ। मल अभावकै कारण लक्ष्यअनुसार उत्पादन नहुने भएपछि किसान निराश बनेका छन्। स्थानीय तहले पनि टेन्डर र खरिद प्रक्रियामा ढिलाई हुनाले समयमै मल वितरण गर्न कठिनाइ भएको स्वीकार्दै आएका छन्। कम्पनीसँग बारम्बार मलको ताकेता गरे पनि पठाएको छैन। टेन्डरमार्फत मल निकासी गर्ने जिम्मा पाए पनि मलको आधिकारिक विक्रेताले नै मल रोकिदिएको ठेकेदार बताउँछन्।
षडानन्द नगरपालिकाले चालु आर्थिक वर्षका लागि ५९ टन मल माग गरेको छ। तर, मागअनुसार मल नआउँदा किसानलाई मल वितरण गर्न कठिनाइ भएको उपमेयर मेरिका राईले सुनाइन्। नगरपालिकाले ११ लाख अनुदानमा ढुवानी खर्च लगाएको छ। मलको ठेक्का पाएको एचपी सप्लायर्सले मल आउने र वडावडामा झार्ने काम भइरहेको बताएको छ। सबै वडाका किसानलाई असारभित्रै मल उपलब्ध गराइसक्ने सप्लायर्सका प्रतिनिधि दावा शेर्पाले बताए।
रामप्रसादराई गाउँपालिकामा लकडाउनअघि केही मल आए पनि लकडाउन र असुरक्षाको कारण देखाउँदै साल्ट टे«डिङले अरु मल पठाएको छैन। चालु आर्थिक वर्षका लागि रामप्रसाद राईमा एक सय ८५ टनको टेन्डर खुलाए पनि टेन्डर नलागेपछि दोस्रोपटकको एक सय ३५ टन मलको टेन्डर खुलाएको थियो। यसका लागि गाउँपालिकाले १५ लाख ढुवानी अनुदान खर्च छुट्याएको थियो। आइपुगेको मलमध्ये ५४ टन मल वडा नं १ धोद्लेखानी, २ ओख्रे र ३ भुल्केका किसानलाई वितरण गरिएको छ। तर, अन्य वडामा मल नपुग्दा किसानले खेतबारीमा मल लगाउन पाएका छैनन्।
हतुवागढी गाउँपालिकाले पनि करिब डेढ महिनादेखि कम्पनीलाई मलका लागि ताकेता गरिरहेको छ। लकडाउनको कारण देखाउँदै कम्पनीले मल नपठाएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ७० टन युरिया ३० टन डीएपी र पोटास मल माग गरेको छ। यस्तै पूर्वी अरुण गाउँपालिकाले आफ्नो ७ वटै वडाका लागि युरिया र डीएपी गरी एक सय ५० टन मल माग गरे पनि कम्पनीले मल पठाएको छैन।

भोजपुर नगरपालिकामा पनि मलको चरम अभाव छ। नगरपालिकाले १९ लाख ४५ हजारको ढुवानी गरेर १२ वटै वडाका लागि कुल ३ सय ६९ मेट्रिक टन मल माग गरेको छ। मलका लागि ताकेता गरिरहे पनि विभिन्न बहानामा साल्ट ट्रेडिङले प्रक्रिया मिलाइरहेको भन्दै ढिलाइ गरिरहेको नगरपालिकाका लेखा प्रमुख मुकुन्द राईले बताए। डिलरले नै लकडाउनका कारण मल भारतको कोलकात्तामै रोकिएको बताउँदै आएको छ।

यो वर्ष जिल्लाका ९ स्थानीय तहमध्ये टेम्केमैयुङ गाउँपालिकाका किसानले मात्र मल पाएका छन्। गाउँपालिकाले लकडाउन सुरु हुनुअघि नै मल आपूर्ति गरेको थियो। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङसँगको सहकार्यमा गाउँपालिकाले यो वर्ष एक सय ३२ दशमलव ३५ मेट्रिक टन मल निकासा गरेको थियो। यसमा गाउँपालिकाले ६ लाख १४ हजार ढुवानी खर्च व्यहोरेको जनाएको छ।

उत्तरी साल्पासिलिछो गाउँपालिकाले भने किसानलाई मल निकासा गरेको छैन। मल नपाएपछि किसान दिङला र खाँदबारी पुग्ने गरेका छन्। गाउँपालिकाले मल वितरण नगरेपछि मलका लागि आफैं खरिद गरेर बालीनालीमा लगाउने गरेको खाटम्माका स्थानीय बमप्रसाद राईले बताए। यता गाउँपालिकाले अर्गानिक कम्पोस्ट मलमा प्रोत्साहन गर्ने लक्ष्यले मलको टेन्डर नगरिएको बताएको छ। गाउँपालिकाका कृषि शाखा संयोजक सीता कार्कीले भनिन्, ‘गत साल केही माग भएको थियो तर तत्काल पर्याप्त बजेट भएन, टेन्डर खुलाइएन, यो वर्षदेखि गाउँपालिकाका किसानलाई कम्पोस्ट मलमै बढी जोड दिन गाउँपालिकाले प्रोत्साहन गरेको हो।’