नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका जति पनि बाटो, बिजुली, विद्यालय, विश्वविद्यालय, लोकसेवा आयोग, विज्ञान प्रविधि केन्द्र तथा अस्पताल, औषधि, उद्योग, निर्माण सामग्री उद्योग, प्रहरी संगठन, सेना संगठन, वायुसेवा निगम, रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रकारिता, कला संस्कृति संगठन, नाचघर, प्रज्ञा–प्रतिष्ठान, समाजकल्याण परिषद, महिला आयोग, संयुक्त राष्ट्रसंघमा सदस्य, सार्क अन्तर्राष्ट्रिय सम्बन्ध, समाचार समिति, टेलिफोन, कृषि तालिम केन्द्र, सिँचाइ कुलोलगायत अधिकांश विकासका पूर्वाधारहरू राजसंस्थाले निर्माण गरेका हुन् ।
इतिहासको हरेक कालखण्डमा विदेशी हस्तक्षेप, विदेशी अतिक्रमण, विदेशी आक्रमण र विदेशी दुश्मनको कब्जा–पञ्जाविरुद्ध लडेर नेपाललाई सधैँ वैरीको तोपसँग खुकुरीको तातो रगत साटेर मुलुकलाई अक्षुण्ण, अजरअमर बनाएर राख्ने पनि राजसंस्था हो । नेपाली भएको परिचय नेपाली नागरिकता र मालिक भएको परिचय जग्गाधनी लालपुर्जा पनि राजसंस्थाले दियो, प्रजातन्त्रसमेत राजाले नै दिए । नेपाली नागरिकलाई राजाले के दिएनन् ?
आज राजसंस्था नहुँदा दलीय मनपरीतन्त्र वा गणतन्त्रका कारण नेपाल र नेपालीको वर्तमान संकटमा परेको छ । नेपाली भाइ–भाइबीच अविश्वास, असुरक्षा र विद्वेष बीजारोपण भएको छ । एक नेपाली जाती र अर्को नेपाली जातीबिच घृणा र प्रतिशोधको भावना छ । पैसा र स्वार्थ प्राप्ति हुन्छ भने आमा, स्वास्नी, छोरी, धर्म संस्कृति, देश पनि बेच्न तयार भइरहेको अवस्था छ । जन्माउने आमाबाबाप्रति सम्मान हरायो । पढाउने गुरुबा–गुरुआमाप्रति आदर छैन । नेपालीले नेपालीसँग शुद्ध नेपाली भाषा बोल्दैन । नेपाली उत्पादन, नेपाली संस्कार–संस्कृति र धर्म–कर्मप्रति अपमान भएको छ । राजाको नामसँग गाँसिएको प्रत्येक जिउँदो ऐतिहासिक संरचना फोड्ने र नाम फेर्ने दुष्प्रयास गरिँदैछ ।
भ्रष्टाचार, तस्करी, कालोबजारी, सिन्डिकेट, खुला सीमा, नागरिकताको बेचबिखन, अपहरण, बलात्कार, हत्या, आतंक, छोरीचेली बेचबिखन, बालबालिका बेचबिखन, घुसखोर, कमिसनखोर, प्राकृतिक स्रोतको बेचबिखन, जाती र धर्मको विखण्डन, धर्मद्रोह, राजद्रोह र देशद्रोह, परनिर्भरता, महँगी र करको भारले नेपाली अह्य पीडामा पिल्सिएका छन् ।
नेपाली जनता विभिन्न दलमा कित्ताकाट भई दलीय विचार र दलाल दलकै झण्डा बोकेर चुपचाप सहेर बसिदिँदा भारतीय सेना नेपाल भूमि कब्जा गरी बसेको छ । यही मौकामा अमेरिकी गुप्तचर ‘सीआईए’ र भारतीय गुप्तचर ‘रअ’को दीर्घकालीन योजनाको घातक षड्यन्त्रमा नेपाल भूमिमा अमेरिकी सेना र बम भित्र्याउन उसले बदनियतपूर्ण ढंगले कांग्रेस, एमाले, माओवादी दललाई ३०औं वर्षदेखि पालिरहेको थियो, लगानी गरिरहेको थियो र छ । त्यसैको नतिजा हो अहिले रअ, सीआईएका पाल्तु खेताला, गणतन्त्रका कुल्लीहरूले माओवादी जनयुद्ध हुँदै १२ बुँदे चोर बाटोबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जबर्जस्त लादेर नेपाल कंगाल बनायो ।
अहिले एमसीसी पास गरिएको छ । विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेकै दिन नेपाली नागरिकता पाउने नियम संसद्ले पास गरेकोे छ । यही अवस्था रहिरहे नेपालीको स्वाभिमान मात्र हैन, पहिचानसमेत गुम्ने खतरा बढेर गएको छ । यो समय नेपालीको लागि इतिहासकै प्रतिकूल समय हो । तसर्थ, नेपाललाई लिबिया, बंगलादेश, श्रीलंका, युक्रेन, सिरिया, अफगानिस्तान र इराक हुनबाट बचाउनका लागि नेपालीले आन्दोलन र विद्रोहमार्फत राजसंस्था पुनर्स्थापना गर्नुपर्ने आवश्कयता होइन, अनिवार्यता र अपरिहार्यता भएको छ ।
(लेखक नागरिक विद्रोह–२०८१ का जनसम्पर्क प्रमुख हुन् । लेखमा प्रस्तुत विचार उनको नितान्त निजी हो)
FACEBOOK COMMENTS