काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते पक्राउ परिसकेका दुर्गा प्रसाईँलाई छोडेर आफ्ना नेताहरूलाई पक्राउ गरिएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
राप्रपाद्वारा हिजो मंगलबार काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रहरीले घेरा हालेर पक्राउ गरिसकेको व्यक्ति दुर्गा प्रसाईंलाई सहजै छोडेर मञ्चमा भाषण गरिरहेका आफ्ना पार्टीका नेताहरूलाई पक्राउ गरिएको बताएका हुन् ।
सरकार र प्रहरीलाई लक्षित गरी उनले भने, ‘तपाइँले दुर्गा प्रसाईलाई पक्रिन सक्नुहुन्थ्यो । तपाइँलाई किचौँला जस्तोगरी आएका दुर्गा प्रसाईंलाई तपाइँले पक्रिन सक्नुहुन्थ्यो । प्रहरीको फन्दाभित्र परेका दुर्गा प्रसाइँलाईचाहिँ ढुक्कले निकालेर पठाउनुभयो । मञ्चमा भाषण गरिराखेका नेताहरूलाईचाहिँ तपाइँले अश्रुग्यास वर्षाउनुभयो । तपाइँले के चाहानुभएको छ र राज्यले के चाहिरहेको छ भन्ने कुरा यसले स्पष्ट गरेको छ ।’ यद्यपि, उनले दुर्गा प्रसाईंलाई पक्रिन पर्थ्यो वा पर्दैनथ्यो भनेर धारणा व्यक्त नगरेको पनि स्पष्ट गरेका छन् ।
यस्तै उनले गणतन्त्रको शक्ति पहिचान गर्नकै लागि आफूहरूले खुरुक्क बल्खुमा सभा आयोजना गरेको बताएका छन् । ‘शान्ति र अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नू केपी ओली र रमेश लेखक । हामी पछि हटेको होइन, याद गर्नू । आज देश दुनियाँले तपाइँको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ भन्ने देख्न पाएका छन् र त्यही देखाउन हामी बल्खु आएका हौँ,’ उनले भने ।
राप्रपा राजनीतिक पार्टी भएको र मौका पर्यो भने राजा ल्याउँछु, हिन्दु राष्ट्र ल्याउँछु, सङ्घीयता खारेज गर्छु, देशका भ्रष्टहरूलाई जेल हाल्छु भनेर सङ्कल्प गरेरै घोषणापत्रमा आफ्नो कुरा उल्लेख गरेर, भोट मागेर देशको पाँचौँ भएको पार्टी भएको उनले स्पष्ट गरे । ‘हामीलाई भृकुटीमण्डपमा आम सभा गर्न दिँदाखेरि ढल्ने तिम्रो कस्तो गणतन्त्र, कति कमजोर गणतन्त्र हो ? त्यो संसारले देखोस् भनेर हामीले त्यहाँ कुनै लफडा नगरेको हो । हामीले आह्वान गरेर यस्तो जुलुस चारतिरबाट हुलिदियौँ भने कसलाई छेक्छौँ कसलाई गोली हान्छौ,’ उनले चेतावनीयुक्त प्रश्न गरे ।
यसैगरी उनले दलका नेताहरू नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी नै बन्द गरिदिने चेतावनी पनि दिएका छन् । ‘मेलै फेरि पनि भन्छु नसुध्रिने हो भने हामी विद्रोहमा जान्छौँ, हामी पनि गोली चलाउँछोँ त भन्दिनँ, तर बालुवाटारलाई घेरेर भातपानी बन्द गरिदिन सक्छौँ । यो कुरा याद गर्नू,’ अध्यक्ष लिङ्देनले भने, ‘त्यसैले चैत १५ को घटनाको निष्पक्ष छानविनका लागि न्यायिक आयोग गठन होस्, दलका कारिन्दाको होइन । दोषी पत्ता लगाइ कारबाही गरियोस् ।’
यी समाचारहरू पनि पढ्नुहोस्–
राजेन्द्र लिङ्देनको आरोप– चैत १५ गतेको हिंसा राज्यले गरेको हो
दलहरूलाई डा. प्रकाश चन्द्र लोहनीको आह्वान : नवीन सहमतिका लागि तयार हुनुहोस्
ज्ञानेन्द्र शाहीको आरोप– तीनकुने आन्दोलनमा तोडफोड र आगजनी गर्ने माओवादी कार्यकर्ता हुन्
ज्ञानेन्द्र शाहीको प्रश्न- राजतन्त्रमा पढ्न पाइँदैन भन्ने बाबुराम एसएलसी टपर कसरी भए
FACEBOOK COMMENTS