काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रिशा साहको मृत्युबारे संसद्मा सरकारको जवाफ मागिएको छ ।
आज आइतबारको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले घटनाको सत्यतथ्य छानबिन तथा संसद्मा यसबारे सरकारको जवाफ माग गरेका हुन् ।
सांसदहरू कृष्णबहादुर रोकाया गङ्गाकुमारी बेलबासे, सुमित्रा बीसी, मदनकुमारी साह गरिमा, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मालगायतले घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सुनौलो आशा बोकेर अध्ययन गर्न विदेश पुगेका नेपाली विद्यार्थीहरूले मृत्युवरण गर्नुपरेको भन्दै उनीहरूले केआईआईटीमा अध्ययनका लागि सरकारले एनओसी दिन बन्द गर्नुपर्ने समेत बताएका छन् ।
किट विश्वविद्यालयमा बीटेक अध्ययनरत प्रिशा साह वैशाख १८ गते विश्विद्यालयको छात्रावासमा मृत भेटिएकी थिइन् ।
सोही विश्वविद्यालयमा गत फागुनमा अर्की नेपाली छात्रा प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् ।
FACEBOOK COMMENTS