काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले आज आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन् ।
त्यस अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीपरिषद्का सदस्य, सरकारका उच्चपदस्थ अधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।
यस्तै, राज्यमन्त्री गर्बुजाले आजै पदबहाली पनि गरेका छन् । शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर उनले पदबहाली गरेका हुन् ।
पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
FACEBOOK COMMENTS