काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको रिक्त सञ्चालक समिति सदस्यमा विवादित व्यक्तिलाई नियुक्ति दिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सक्रिय रहेको पाइएको छ ।
मन्त्री पौडेलले हाल अस्पतालमा कन्सल्टेन्ट कार्डियोलोजिष्ट पदमा कार्यरत डा. चन्द्रमणि अधिकारीलाई समितिको सदस्य नियुक्त गर्न लागेका हुन् । डा. अधिकारी विभिन्न मुद्दामामिलामा मुछिएर विवादमा तानिएका व्यक्ति हुन् । कतिपय मुद्दा त अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छन् ।
डा. अधिकारी यसअघि अस्पतालको कार्यकारी निर्देशक थिए । आफू निर्देशक रहँदा उनले अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरूमाथि गैरकाुननी र अस्वाभाविक व्यवहार गर्नेदेखि सञ्चालक समितिको निर्णय अवज्ञा गर्नेसम्मको हर्कत देखाएर अस्पताललाई नै तहसनहस बनाएका थिए ।
उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री स्वयम् अध्यक्ष रहेको अस्पताल सञ्चालक समितिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन र सोसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छ । सञ्चालक समितिविरुद्धनै मुद्दामामिलामा सक्रिय रहेका डा. अधिकारीलाई सोही समितिमा सदस्य बनाउनु ‘कन्ल्फिक्ट अफ इन्ट्रेष्ट’ हुने र आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्ने खतरा सृजना हुने देखिन्छ ।
सञ्चालक समिति सदस्यको नियुक्ति लिन उनले सरकार र स्वास्थ्यमन्त्रीलाई समेत प्रभावमा पारिसकेको समाचार स्रोतको दाबी छ । सञ्चालक समिति सदस्यको नियुक्ति लिएर उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा सञ्चालक समितिबाटै आफ्नो पक्षमा पार्ने षडयन्त्र गरिरहेको स्पष्ट देखिन्छ । उनको स्वार्थपूर्ण षडयन्त्रबाट अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका स्वयम् स्वास्थ्यमन्त्री पौडेल र मन्त्रिपरिषद् जोगिनपर्ने अवस्था सृजना भएको छ ।
डा. अधिकारीका कर्तुतहरूबारे यसअघिका यी समाचारहरू पनि पढ्नुहोस्–
गंगालालमा चन्द्रमणिको दादागिरी
गंगालाल अस्पतालको मनोमानी प्रकरण : सर्वोच्च अदालतले लगायो निर्देशक अधिकारीमाथि लगाम
FACEBOOK COMMENTS