गोरखा । लमजुङ र तनहुँ जिल्लाबाट बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
एमए पावर द्वारा निर्माण गरिने यस आयोजनाको लागि २०८२ साल बैशाख ३१ गते कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता सम्पन्न भएको हो ।
सम्झौता एमए पावर का अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा सम्पन्न भएको हो । परियोजनामा कुमारी बैंकसहित प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकबाट कुल १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको ऋण लगानी हुनेछ ।
स्वपुँजी लगानी अध्यक्ष अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको रहनेछ भने डोल्मा इम्प्याक्ट फण्डले संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने बताइएको छ ।
यसै लगानी समूहबाट हाल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजना पनि अन्तिम चरणमा रहेको छ। मस्र्याङ्दी आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कार्तिक १ गते सम्पन्न भइसकेको छ र व्यावसायिक उत्पादन सुरु गर्ने मिति २०८६ साल बैशाख २२ तोकिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि अन्तिम चरणमा रहेको छ। उत्पादित विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर टाढा रहेको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभी मा जोडिनेछ ।
FACEBOOK COMMENTS