काठमाडौं । नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमल्सिनाले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्र स्थानीय तहलाई जिम्मा दिँदा व्यापक बेथिति बढेको बताएका छन् ।
प्रतिनिधि सभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढेको बेथिति अन्त्य गरी गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारकै कामतहतमा ल्याउनुपर्ने धारणासमेत व्यक्त गरेका छन् ।
‘शिक्षा र स्वास्थ्य स्थानीय तहमा लैजाँदै गर्दा ठूलो बेथिति आएको छ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्य संघमा हुँदा राम्रो थियो, स्थानीय तहमा गएपछि स्वास्थ्यमा सिटामोल पनि पाइएन भन्ने जनताको गुनासो छ । त्यसकारण मेरो आग्रह छ, शिक्षा र स्वास्थ्यलाई सङ्घमै ल्याउनुपर्यो ।’ मुलुकमा संघीयताका नाममा बढेका अस्वाभाविक खर्च घटाएर शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्ने धारणा उनको छ ।
यस्तै, उनले बढी लगानी गर्नुपर्ने क्षेत्र शिक्षा र स्वास्थ्य भएको चर्चा गर्दै शिक्षासँग सम्झौता भएका विषयहरूलाई पनि अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । शिक्षकहरूसँग हालै भएको सहमति तत्काल सदनमार्फत कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
यस्तै, सांसद तिमल्सिनाले विद्यार्थीको संख्याको आधारमा शिक्षक दरबन्दी सृजना गर्नुपर्ने बताएका छन् । शिक्षक र विद्यार्थीको संख्यामा व्यापक असन्तुलन रहेको भन्दै उनले विभेद नगर्न समेत आग्रह गरेका छन् । ‘विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी सृजना गर्नुपर्यो । कुनै ठाउँमा १६ जना विद्यार्थी छन् १६ जना नै शिक्षक हुनुहुन्छ । तराइतिर १५० जनासम्मको विद्यार्थीको बीचमा एक जना गुरु हुनुहुन्छ । कम्तिमा यस्तो विभेद नगरौँ,’ उनले भने ।
सांसद तिमल्सिनाको पूरा धारणाका लागि तलको लिंक खोल्नुहोस्–
देश टाट पल्टिन लाग्यो, तीन तहको निर्वाचितलाई कहाँबाट तलब खुवाउने ?
FACEBOOK COMMENTS