गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले धमाधम संयुक्त रुपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरुआत गरेका छन् ।
बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँअघि नैअस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै सञ्चालन गर्नेगरी बेलीब्रिज को काम भइरहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।
आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्ग बीच आवागमन अवरुद्ध भएको थियो । सो सडकमा सवारी साधन नचल्दा दसैका बेला उत्तरी गोरखा आवतजावत प्रभावित बनेको थियो ।
पुलजीप लगायत प्राविधिक काम गोरखा सडक योजना कार्यालय र बेलीब्रिजको डेक जोड्ने काम नेपाली सेनाले गरेको हो । “आजसम्म हामी पुलको दुवैतर्फको जीप तयार गरिसक्छौँ । भोलिदेखि नेपाली सेनाले डेक सेटिङको काम सुरुआत गर्छन्”, गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनले भने, “सेनाले दुई दिनमा काम सम्पन्न गर्छौँ भनेको छ । दशैँअघि नै त्यहाँ गाडी चल्छ । ”
गत आइतबार बूढीगण्डकीको सहायक खोला उङ्गिलुङ पहिरोले थुनिएर एक्कासी आएको बाढीले धादिङ र गोरखा जोड्ने सो पुलको गोरखातर्फको भाग बगाएको थियो । “बगेको भागमा तत्काल सवारी चलाउन अहिले २२ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको बेलिब्रिज जोडिन्छ”, कार्यालय प्रमुख पुनले भने “दसैँअघि सवारी सञ्चलन गर्न मिल्ने गरी रातदिन नभनी काम भइरहेको छ । ” राती पनि काम नरोकिएको उनले बताए । उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसंग जोड्ने सो पुल २०७० सालमा निर्माण भएको हो ।
