काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई आयोडिनयुक्त नुनको कारोबार गर्न दिनेबारे कुनै निर्णय नभएको दाबी गरेका छन् ।
आज सोमबार काठमाडौंमा आयोजित उपभोक्ता सुरक्षाबारेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले यसबारे सञ्चार माध्यमहरूमा आएका समाचारमा सत्यता नभएको स्पष्ट गरेका हुन् ।
आयोडिनयुक्त नुनको आपूर्ति, भण्डारण र बिक्री–वितरण नियमितझैँ साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् नै हुने उनले बताए ।
‘केही मिडियाहरूमा साल्ट ट्रेडिङमार्फत हुँदै आएको आयोडिनयुक्त नुनको बिक्री–वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिन लागिएको भनेर समाचारहरू सम्प्रेषण भएको पाएँ,’ मन्त्री भण्डारीले भने, ‘यो कसरी आयो, किन आयो, त्यो जानकारी भएन । वास्तवमा, अहिलेसम्म आयोडिनयुक्त नुन बिक्री–वितरणको अधिकार साल्ट ट्रेडिङ कर्पोरेशनलाई छ ।’
उनले आपूर्ति शृङ्खलासँग सम्बन्धित कुनै निर्णय गर्नुपरे पहिलो जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हुने भन्दै नुनको कारोबारको अधिकार निजी क्षेत्रलाई दिनेबारे अहिलेसम्म कुनै निर्णय नभएको दाबी दोहोर्याए ।
FACEBOOK COMMENTS