पाल्हीनन्दका किसानले पाए धानको बीउ
कर्पोरट खबर
9:26 pm, सोमबार, जेठ १२, २०८२
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरेको छ ।
प्रतिकिलो रु ४५ को दरले किसानलाई धानको बीउ वितरण गरिरहेको पाल्हीनन्दन–६ निवासी बन्धु यादवले जानकारी दिनुभयो । यही जेठ २ गतेदेखि गाउँपालिकाले हर्दीनाथ, बहुगुडी, साभा एक नामक धानको बीउ ३८० किसानलाई वितरण गरिसकेको गाउँपालिकाका कृषि शाखा अधिकृत पशुपतिनाथ चौधरीले बताउनुभयो ।
उहाँका अनुसार हर्दीनाथ मध्यम–खेतमा र बहुगुडी, साभा धान खाला खेतमा उत्पादन हुने धान हो । भारतबाट धानको बीउ ल्याउदा महँगो पर्ने र बीउ राम्रो नहुने, उत्पादन कम हुने र प्रहरीले रोक्ने गुनासो आएपछि गाउँपालिकाले किसानको समस्यालाई मध्यनजर गर्दै धानको बीउ वितरण सुरु गरेको कृषि शाखा अधिकृत चौधरीको भनाइ छ ।
धानमा कुनै समस्या आयो वा उत्पादन भएन भने बुद्ध सिड कम्पनीसँग कानुन बमोजिम किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ । रु पाँच लाख किसानको र पाँच लाख गाउँपालिकाको गरी रु १० लाख बराबरको धानको बीउ वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ। नागरिकता र लालपुर्जाको प्रतिलिपी लिएर आउने किसानलाई धानको विउ वितरण गरिरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो । गत वर्ष पनि गाउँपालिकाले किसानलाई धानको बीउ वितरण गरेको थियो ।
FACEBOOK COMMENTS