काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजेदेखि बस्ने छ ।
विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । पछिल्ला दिनहरूमा भएका छलफलपछि सत्तापक्ष र विपक्षी दलहरू संसदको अवरोध खुलाउन सहमति नजिक पुगेका छन् ।
।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुङ्ग्याउने चरणमा रहेको आइतबार प्रतिक्रिया दिएका थिए । प्रचण्डले संसद खोल्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए ।
विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाको अडानबाट पछि हटेको उनीहरूका पछिल्ला अभिव्यक्तिहरूले सङ्केत गरेका छन् । संसदको अवरोध हटाउने विषयमा ‘सेफ ल्यान्डिङ’ का लागि भाषा मिलाएर सहमति गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो अडानमा कायम रहे पनि माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हटिसकेका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग त गरिरहेका छन् । तर, यसबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अर्को समिति वा आयोग बनाउन नहुने सत्तापक्षको अडानमा उनीहरू लगभग सहमत भएको बुझिएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पछि हटेपछि रास्वपा पनि आज सहमतिमा आउने सत्ता पक्षको बुझाइ छ । आइतबार नै सहमति हुने भनिएको भए पनि रास्वपाले समय मागेपछि आजसम्मको समय दिइएको बुझिएको छ ।
आज मध्याह्न १२ बजे सत्तापक्ष र विपक्षी दलहरूले छलफल गरेर सहमतिको खाका तयार गर्ने र आज तोकिएको २ बजेदेखि नै संसद सुचारु हुने बताइएको छ ।
भिजिट भिसा प्रकरणमा २०६४ सालदेखिकै छानबिन गर्न अख्तियारलाई आग्रह गर्नेबारे विपक्षीहरूले उठाएको माग समेटर सहमति हुन सक्ने सत्तापक्षका एक सांसदले बताए ।
सभामुख देवराज घिमिरेले समेत आइतबार साँझ बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति हुने सङ्केत आफूले पाएको बताउँदै सहमतिका लागि समय दिन सोमबार २ बजेसम्मका लागि बैठक स्थगित गरेको बताएका थिए ।
FACEBOOK COMMENTS