काठमाडौं । नेदरल्याण्डसले स्कटल्याण्डविरुद्धको खेलमा ४ विकेटको शानदार जित हासिल गरेको छ ।
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको ३७० रनको लक्ष्य पछाएको नेदरल्याण्डले ४९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेदरल्याण्डसका लागि म्याक्स ओ डाउडले सर्बाधिक अविजित १५८ रन बनाए भने तेजा निदामानुरुले ५१, नोआह क्रोएजले ५० र माइकल लेभिटले ४४ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३६९ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक १९१ रन बनाएका थिए भने कप्तान म्याथ्यु क्रसले ५९ रन बनाएका थिए ।
नेदरल्याण्डसले आफ्नो एकदिवसीय इतिहासमा धेरै रन चेज गरेको यो दोस्रो ठुलो लक्ष्य हो । यस अघि २०२३ मा वेस्ट इन्डिजविरुद्ध ३७४ को लक्ष्य बराबरी गर्दै सुपर ओभरमा खेल जितेको थियो ।
योसंगै तीन देशको लिग-२ अन्तर्गतको यो सिरिज सकिएको छ । जसमा नेपालले ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ भने स्कटल्याण्डले ४ मध्ये २ र नेदरल्याण्डले ४ मध्ये एक खेलमा जित हासिल गरेको छ ।
यो सिरिजपछि नेदरल्याण्डसको २४ खेलमा २८ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको २० खेलमा २४ अंक भएको छ र तेस्रो स्थानमा छ । त्यस्तै नेपालको भने १६ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।
अब यो सिरिजपछि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डसले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् । सिरिज जुन १५ देखि शुरु हुने छ ।
FACEBOOK COMMENTS