काठमाडौं । काठमाडौंकाे तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा संलग्न रहेको अभियोग लागेका राप्रपा नेता रवीन्द्र मिश्रमाथिको थुनछेक बहस सकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासमा थुनछेक बहस सम्पन्न भएको हो।
अदालतले मिश्रलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्नेबारे आदेश दिनेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र मंगलबार आफैं अदालतमा उपस्थित भएका थिए। यसअघि सोही घटनामा संलग्न देखिएका राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए र उनी तीन लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।
मिश्रविरुद्ध जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध तथा एकीकृत कसुर अन्तर्गतको अभियोगमा मुद्दा दर्ता गरिएको हो।
गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन उग्र बनेर हिंसात्मक घटनामा परिणत भएको थियो। सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएको आरोप लागेको छ।
FACEBOOK COMMENTS