काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिले पार्टीमा तरङ्ग ल्याएको छ ।
शनिबार रूपन्देहीको मणिग्राममा आयोजित पार्टीको युवा सङ्घ नेपाल रूपन्देहीको जिल्ला भेलामा झाँक्रीले अध्यक्ष माधवकुमार नेपालको बारेमा गरेको टिप्पणीले तरङ्ग ल्याएको हो ।
झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि सङ्कट आएको बताउँदै अब काँधमा सिनो बोकेर हिँड्न नसकिने टिप्पणी गरेकी थिइन् ।
उनले भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि सङ्कट आयो । अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढङ्गले जानको लागि केही डिपार्चर गर्नु परेन ? अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । तपाईंमध्ये जोकोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरूले यो पार्टी बनाउनुहुन्न ।’
झाँक्रीको यो अभिव्यक्तिपछि नेपाल पक्षधर नेताहरूले असहमति जनाउँदै प्रतिक्रिया दिन सुरू गरेका छन् । यसैक्रममा एकीकृत समाजवादीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका पूर्वअध्यक्ष युवा नेता सुदेश पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई विक्षिप्त मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।
पराजुलीले सामाजिक सञ्जालमा लेखेका छन्–
लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा पारेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टण्टबाजी गरेर उदय भएको हो । कहिले पदका निम्ति जस्तोसुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नुपर्दा रुवावासी, यो मानसिकताको विशेष गुण हो । यस्तो मानसिकताको विश्वास गरेर हामी मूर्ख नबनौं ।
FACEBOOK COMMENTS