काठमाडौं । मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवम् लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स (एनसीसी) सँग छलफल गरेको छ ।
एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप कुमार कुकरेजासहितकोे प्रतिनिधिमण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्बन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तारलगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित छलफलमा काउन्सिलका अध्यक्ष प्रदीप कुमार कुकरेजा दुईपक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका छन् भने चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको ऊर्जा, उत्पादनमुलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी व्यवसायीलाई आग्रह गरे । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनिकरणका लागि पनि नेपाली वस्तुहरुको आयात वृद्धि गर्न आग्रह गरेको चेम्बरले जनाएको छ ।
यस्तै, चेम्बर अध्यक्ष अग्रवालले नेपाल र मलेसियाबीचको कुटनीतिक सम्बन्ध ६५ वर्ष भन्दा पुरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीको दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए । नेपालबाट मलेसियामा पाँच लाख भन्दा बढी युवाले रोजगारी पाइरहेको र दुई मलुकबीच सबै भन्दा धेरै हवाई सम्पर्क विस्तार भइरहेको उनको भनाइ थियो ।
नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको चर्चा गर्दे अध्यक्ष अग्रवालले मलेसियासँग नेपालको व्यापारघाटा उच्च रहेकाले यसलाई घटाउनका लागि व्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
चेम्बर पदाधिकारीहरूसँगको भेटमा मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप कुमार कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफूलाई आकर्षित गरेको बताए । उनले लगानीको सम्भावना देखेर नै आफूहरू नेपाल आएको र व्यावसायिक वातावरण बनाउनका लागि चेम्बरसँग सहकार्य गर्न लागेको बताए ।
FACEBOOK COMMENTS