काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवालले आयात प्रतिस्थापन गर्न पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्ने बताएका छन् ।
नेपाल निर्वामाण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई चेम्बर भवन जमलमा स्वागत एवम् सम्मान गर्दै उनले पूर्वाधार विकास नभइ नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने भएकाले पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
सडक, ऊर्जा, जलस्रोत, सहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्न उनले सरकारलाई आग्रह गरेका छन् । साथै, निर्माण क्षेत्रमा कार्यरत व्यवसायीहरूलाई समयमै भुक्तानी नहुँदा परियोजनाहरू प्रभावित हुने गरेको उल्लेख गर्दै उनले भने, ‘जसरी सरकारले १५/१५ दिनमा कर्मचारीलाई तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ त्यसैगरी पूर्वाधार क्षेत्रको विकासमा योगदान दिने निर्माण व्यवसायीहरुलाई पनि समयमै भुक्तानी दिइनु पर्दछ ।’

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढे आर्थिक विकासको लक्ष्य हासिल गर्न अझ सहज हुने बताउँदै निजी क्षेत्रका समस्याहरु सुनेर अघि बढनुपर्ने उल्लेख गरे ।

त्यस अवसरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले विकासशील राष्ट्रका लागि पूर्वाधार नै आर्थिक प्रगतिको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालको वर्तमान सन्दर्भमा निर्माण क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । हाल निजी क्षेत्रप्रति सरकारी व्यवहार अपेक्षाअनुसार सहयोगी नभएको भन्दै उनले व्यवसायीहरूमा निराशा बढिरहेको चर्चा गरे ।

निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या ढिला भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया, लागत वृद्धिका चुनौतीहरू समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा उनको जोड छ ।