काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (बीएमसीभी) ले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सञ्चालन गरेर मनाएको छ ।
तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ ।
यस अवसरमाबीएमसीभीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कर्मचारी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त कार्यक्रममार्फत ५१ युनिट रगत संकलन गरिएको छ, जसले देशको स्वास्थ्य प्रणालीलाई सहयोग पुर्याउनुका साथै धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
साथै, कम्पनीले नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना व्यक्तिहरू लाभान्वित भएका छन् । व्यक्तिगत स्वास्थ्यबारे सचेतना बढाउने र कर्मचारी तथा स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यी शिविरहरूको आयोजना गरिएको थियो ।
पर्यावरणीय जिम्मेवारीतर्फ पनि बीएमसीभीले विशेष ध्यान दिएको छ । कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । यस पहलमार्फत दिगोपनको महत्त्व उजागर गर्दै भविष्यका पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान गर्ने सन्देश दिएको छ । यसले वातावरणीय प्रभाव घटाउने र सकारात्मक परिवर्तन ल्याउने कम्पनीको प्रतिबद्धता पनि उजागर गर्दछ ।

ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले बीएमसीभी ले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो । यस क्रममा कम्पनीको टोलीले आश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकहरूसँग समय बिताउँदै उहाँहरूसँगै भोजन गरेको थियो ।

यसले सामुदायिक सम्बन्धको महत्वलाई झल्काउँदै आपसी सद्भाव विस्तार गर्न सहयोग गरेको कम्पनीको विश्वास छ । वृद्धाश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूलाई साथ, सहयोग र सहजता प्रदान गर्ने लक्ष्यसहित यो कार्यक्रम गरिएको थियो ।

आफ्नो तीन वर्षको यात्रा पूरा भएको असवरमा बीएमसीभीले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएको छ । यी कार्यक्रममार्फत कम्पनीले आफ्नो दृष्टिकोण केवल व्यापारिक सफलतामा सीमित नभई समाजमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेको स्पष्ट पारेको छ ।