काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण नसोधिएको स्पष्ट गरेकी छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला वरिष्ठ पदाधिकारीले चलाएको भन्दै त्यसमा सत्यता नभएको बताएकी हुन् ।
उनले भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनू भनेर पार्टीले निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु, त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’
एकीकृत समाजवादीको सचिवालय बैठक अहिले बसिरहेको छ । आजको बैठकमा अध्यक्ष नेपालविरुद्ध दायर भएको मुद्दा र झाँक्रीको टिप्पणीको बारेमा छलफल हुने बताइएको छ ।
झाँक्रीले गत शनिबार रूपन्देहीको मणिग्राममा आयोजित युवा सङ्घको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालमाथि मुद्दा लागेपछि ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन् ।
FACEBOOK COMMENTS